काठमाडौं, १ मंसिर । नेपाल सरकारको वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन– ०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारणगर्नका लागि अध्ययन प्रतिवेदन पेशगर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ । नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ ।

वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरुपता, पारदर्शिता र नियमनको आबश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनकासाथै बजारको नियम समेतलाई मध्यनजरगर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ । मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचारगरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ ।