ढाका, २ मंसिर । बंगलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइएको केही घण्टापछि हिजो सोमबार भारतसँग सुपुर्दगीगर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ । सन् २०२४ अगष्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उहाँ भागेर भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको थियो । अहिले पनि उहाँ नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा रहेको अनुमान गरिएको छ । भारतले पूर्व प्रधानमन्त्री हसिनालाई सहयोग गरेको र शरण दिएको बिषयले दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ । गत बर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहविरुद्ध भएको घातक दमनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि ढाकाको एक अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई उहाँहरुको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। पूर्वमन्त्री कहाँ छन् भन्ने थाहा छैन, तर बंगलादेशले भने उहाँ पनि भारतमा रहेको दावी गर्दै आएको छ।

बंगलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बंगलादेशी अधिकारीहरुसमक्षसुपुर्दगी गरियोस् । बंगलादेशले चेतावनी स्वरमा भनेको छ–यी दोषीहरुलाई शरण दिने बिषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ। भारतीय विदेश मन्त्रालयले हसिनाको फैसलालाई ध्यान दिएको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरता सहित बंगलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध छ भनिएको छ । हसिनाको १५ वर्षे कार्यकालमा व्यापक मानवअधिकार उल्लंघन भएको थियो, जसमा उहाँका राजनीतिक विरोधीहरुको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरु समावेश छन्।

बंगलादेशले गतबर्ष हसिनाका लागि इन्टरपोलमा अत्यन्त खोजी सूचना जारीगर्ने बताएको थियो, तर विश्वव्यापी प्रहरी निकायको सूचीमा कुनै रेकर्ड दर्ता नभएको बताइएको छ। बंगलादेशका अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले शान्ति कायमगर्न आग्रहगर्दै सार्वजनिक व्यवस्था उल्लंघनगर्ने कुनै पनि प्रयास नगर्न चेतावनी दिँदै सबैलाई अनुशासनहीन कार्यबाट टाढा रहन आग्रह गर्नुभएको छ । रासस,एएफपी