काठमाडौं, २ मंसिर । चालु आर्थिक बर्ष ०८२÷८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबरमात्रै विकास खर्च भएको हो । चालु आबका लागि पुँजीगत शीर्षकमा चार खर्ब सातअर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख बराबरमात्रै खर्च भएको कार्यालयले जनाएको छ । यस अवधिको कूल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३.८७ प्रतिशत छ । चालु आबका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

चालु गत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७.१८ प्रतिशत अर्थात तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीनखर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२.६७ प्रतिशत अर्थात एकखर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ । यस अवधिको सरकारी राजस्व संकलन तीन खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१.७२ प्रतिशत हो । चालु आर्थिक बर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । रासस