काठमाडौं,८ मंसिर । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरुगरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषकाअनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३०९ पुगेका छन् । त्यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १८९ बराबर पुगेको छ । कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ । कोषका अनुसार औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुईअर्ब ५१ करोड २० लाख ९४ हजार ८२२, दुर्घटना तथा अशक्तता दावी २२ करोड ८६ लाख ५३ हजार ४७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड सातलाख ७२ हजार ११६ र अवकाश दाबी रकम १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ बराबर छ ।
सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रुपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा बिभिन्न संघसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागीभइ योगदानकर्ता बन्न सक्छन् । कोषमा नियमितरुपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य श्रोतहरुको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ । रासस