काठमाडौं,११ । म्याग्दीको सदरमुकाम बेनीस्थित प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा बन्दभएको छ । ५० शैया क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा हाइड्रोसिल, एपेण्डिसाइटिस र हर्नियालगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो । विशेषज्ञ डा अशोक पन्त मंसिर एकगतेदेखि राजीनामा दिएरगएको र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्दभएको हो । गत कात्तिक १५ गतेदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सूचारु भएको छैन् । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता शुरुभएको छ । प्रदेश सरकारले विषेशज्ञ चिकित्सक खटाउन ढिलाइगर्दा शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बेनीका स्थानीय दिनेश ढुंगानाले गुनासो गर्नुभयो । सेवा बन्दहुँदा म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् । म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चिकित्सकको ब्यवस्थाका लागि स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई ताकेता गरेको बताउनुभयो । उहाँले चिकित्सक खटाउन स्वास्थ्यमन्त्रीलाई दैनिकजसो फोनगरेर ताकेता गरेका छौँ । एक दुई दिनमा चिकित्सक आउने प्रतिबद्धता जनाए पनि ढिलाइ भएको छ भन्नुभयो ।

गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समिति प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् । बेनी अस्पतालले अन्तरंग र बहिरंगसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालनगर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले बताउनुभएको छ । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको ०७४ देखि शुरुभएको भवन निर्माणले पूर्णता नपाउनु र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौती बनेको छ । रासस