काठमाडौं, ३० पुस । दार्चुलाको अपिहिमाल–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई शेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले शेयर जारीगर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड शेयर वितरण संघर्ष समिति गठनगरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिकरुपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क शेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत शेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ ।
यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानीघट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ । यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए । त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा बिद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन कम्पनीसँग माग गरिएको छ । मकरीगाड हाइड्रोपावरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए हाइड्रोपावर बन्दगर्ने चेतावनी पनि दिइएको छ ।
हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिले अपिहिमाल गाउँपालिकासँग पनि शेयर वितरण र आयोजनाका विषयमा आवश्यक समन्वयगर्न आग्रहगर्दै ज्ञापन बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाहगर्न माग गरिएको छ । रासस