काठमाडौं, ३० पुस । पूर्वसांसद तथा नेताहरुले जनमुखी राजनीति, जवाफदेही नेतृत्व र समयमै निर्वाचन मार्फतमात्र देशलाई सही दिशामा लैजान सकिने बताएका छन । पूर्वसांसद मञ्च, नेपालद्वारा हिजो आयोजित ‘नेपालको वर्तमान परिस्थितिको समीक्षा र हाम्रो दायित्व’ विषयक अन्तक्र्रियामा सहभागी पूर्वसांसद तथा नेताहरुले देशको बिद्यमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्तगर्दै जुनसुकै शर्तमा पनि तत्काल निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले पछिल्लो राजनीतिक परिस्थितिमा देशलाई अघिबढाउने तत्कालको आधार निर्वाचननै भएको बताउनु भएको थियो । उहाँले अहिलेको राजनीतिक जटिलतालाई चिर्ने एकमात्र उपाय निर्वाचन हो भन्नुभएको थियो । पूर्वमन्त्री सुमना श्रेष्ठले निर्वाचनलाई आशाको खेती बनाउन नहुने धारणाभन्दै दलहरुले सार्वजनिक गर्ने घोषणापत्र व्यवहारिक र कार्यान्वयन योग्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले राजनीतिक नेतृत्व जनताको एजेन्डा, पीडा र आवश्यकताबाट टाढिँदै गएको टिप्पणी गर्नुभएको थियो । संविधानबिद तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले ऐन निर्माण प्रक्रियामा भएका कमजोरीहरु औँल्याउनुभएको थियो । उहाँले लगानीमैत्री कानूनी वातावरण बनाउन नसकेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने बताउनुभउको थियो । अधिकारीले नेतृत्वलाई जनताको मुद्धा र पीडाले छुन छोडेको छ, हामीलाई जनताको दुःखले दुख्दैन, त्यसैले जनतामा निराशा बढेको हो भन्नुभएको थियो । नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले वर्तमान अवस्था अपेक्षा गरेभन्दा धेरै चुनौतीपूर्ण रहेको बताउँदै राजनीतिक दल र नेतृत्व अझै बढी जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।