
तस्वीर रासस
काठमाडौं, ३० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुख्य राजनीतिक दलहरुले आफ्ना कमीकमजारी सुधारगर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा हिजो आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधनगर्दै उहाँले राष्ट्रलाई थप एकताबद्ध, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढगर्नका लागि नयाँ संकल्पसहित पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । संयोजक दाहालले सबै प्रमुख राजनीतिक दलहरुले आत्मसमीक्षा गरेर विगतमा आफ्ना कमजोरीको मूल्यांकनगर्न जरुरी रहेकामा जोड दिनुभएको थियो । उहाँले सबै ठिकै चलिरहेको छ भन्नेगरी परम्परागत तरिकालेमात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन ।
राष्ट्र जुन असाधारण संकटको अवस्थाबाट गुज्रेको छ, यसलाई थप एकताबद्ध, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षकासाथ हामीले पार्टी एकता प्रक्रियालाई अगाडि बढाएका छौँँ भन्नुभएको थियो । संयोजक दाहालले देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्नका लागि नेपालको इतिहासमा पहिलोपटक एकैसाथ २० वटा कम्युनिष्ट र समाजवादी घटकलाई एकताबद्धगर्न सफल भइएको उल्लेख गर्नुभएको थियो ।
उहाँले पार्टी एकताको प्रक्रिया दिनप्रतिदिन झन शक्तिका साथ अगाडि बढिरहेको छ । खाली घटक संगठनमात्रै होइन देशलाई मायागर्ने थुप्रै व्यक्ति व्यक्तित्वहरु पनि जोडिरहेका छन् । अब एकताको उद्देश्य र जेनजी पुस्ताले अगाडि सारेको सुशासन कायमगर्दै भ्रष्टाचारमुक्त देश बनाउन सबै प्रतिबद्ध भएर लाग्ने छौँ भन्नुभएको थियो ।