काठमाडौं,११ । विद्यावारिधि (पिएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वबिद्यालयको सह–परीक्षा नियन्त्रक बनेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविअन्तर्गतका चारजना प्राध्यापकविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले समितिका संयोजक तथा सदस्यहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन–०५९ को दफा १३ तथा १९(२०) बमोजिम र प्रसाईंविरुद्ध दफा १६, १७(१०) र २४ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलकाअनुसार त्रिभुवन विश्वबिद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले उपाधि नपाइकन आफूलाई बिद्यावारिधिधारीका रुपमा प्रस्तुतगरी पद तथा सुविधा प्राप्तगरेको आयोगको आरोप छ ।

सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्राडा जया लक्ष्मी प्रधान तथा सदस्य प्राडा मोतिलाल शर्मा र प्राडा मेघराज पोख्रेलले प्रसाईंसँग मिलेमतोगरी परीक्षा परिणाम गणनामा अनियमितता गरेको, मापदण्डविपरीत अंक प्रदानगरेको र झुटो विवरणका आधारमा नियुक्ति सिफारिस गरेको आयोगको आरोपपत्रमा उल्लेख छ । अनुसन्धानकाक्रममा प्रसाईंले आवेदन दिने समयमा बिद्यावारिधि उपाधि प्राप्त भएकोभनी झुटो कागजात पेश गरेको, मौखिक परीक्षा रोकिएको अवस्थामानै उपाधि प्राप्त भएको दाबीगरेको र सोही आधारमा अतिरिक्त अंक पाई अन्तिम नामावलीमा परेको पुष्टि भएको आयोगले जनाएको छ ।

त्रिभुवन विश्वबिद्यालय रजिष्ट्रारको कार्यालयले ०८१ साउन १७ र २२ गते सो पदका लागि सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार तीन सदस्यीय समितिले प्रसाईंलाई बिद्यावारिधि शीर्षकको आठ अंक प्रदानगरी ०८१ मंसिर १९ गतेदेखि लागू हुनेगरी नियुक्ति सिफारिस गरेपनि प्रस्तुत कागजातको आधिकारिकता जाँच नगरेको आयोगको निष्कर्ष छ । प्रसाईंले नपाएको डा. उपाधिको प्रयोग बिभिन्न कागजात, नेमप्लेट, क्यालेन्डर तथा विदेश सेमिनारसम्बन्धी प्रमाणपत्रमा गरेको पाइएको आयोगले जनाएको छ ।