काठमाडौं, १६ मंसिर । पोखरामा भोली बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुनेभएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने संघले जनाएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले मेलास्थल पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हिजो आयोजित पत्रकार सम्मेलनमा लगानीको नयाँ सम्भावना खोजी गरी गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभएको थियो । उहाँले मेला मंसिर २१ गतेसम्म सञ्चालन हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अध्यक्ष कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउनका लागि मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेनजी प्रदर्शनपछि निजी क्षेत्र संकटमा छ । उद्योगी÷व्यवसायीको मनोबल बढ्न सकेको छैन । मेलाका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने तथा व्यवसायीको मनोवल वृद्धिगरी लगानीका नयाँ सम्भावनाको खोजीगर्ने उद्देश्य राखेका छौँ भन्नुभयो । मेलामा सूचना प्रविधि क्षेत्रका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरु रहने छन् । संघले ०४२ देखिको मेला गर्दैआएको छ ।

अध्यक्ष कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको शहरकोरुपमा विकासगर्न मणिपाल अस्पतालसँगको सहकार्यमा मेला आयोजना भइरहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल मणिपाल अस्पतालका ‘लियाजन अफिसर’ कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधनगर्ने प्रयत्न गरिने बताउनुभयो । उहाँले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादन प्रदर्शनीमा राखिने छन् । मेलास्थलबाट सूचना प्रविधिसम्बन्धी नवीन जानकारी दिनेछौँ भन्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने र यस क्षेत्रको मौलिक संंस्कृति प्रदर्शन गरिने जानकारी दिनुभयो । रासस