काठमाडौं, २० मंसिर । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सीमानामा निर्माणहुने तिला जलबिद्युतको ३८.०७ मेगावाटको बिजुली उत्पादनगर्न करिब सात अर्बभन्दा बढी लाग्नेभएको छ । तिला–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलबिद्युत आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो । तिलामा जलबिद्युत आयोजना निर्माणगर्न सम्भाव्यता अध्ययन चारवर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माणहुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२.५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् भट्टको भनाइ छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत बिद्युत विकास विभागबाट उक्त योजनाको नाँपजाँच ०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्तहुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । उत्पादन भएको बिद्युतलाई १३२ केभी सिंगल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ ।

बिद्युत गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन् । आयोजना कुल लागत नेपाल सरकारको सातअर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको बिद्युत विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादन भएको बिद्युत ३०.२० किमि लामो र १३२ केभी सिंगल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा वनक्षेत्रको जग्गा ४.७७२ हेक्टर र नीजी जग्गा २.८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा व्यपार व्यवसायगर्न सक्नेछन् । जसलेगर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो ।

आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधूरी प्रत्यक्ष रुपमा प्रभावितहुने देखिन्छ । प्रत्यक्ष प्रभावित घरधूरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँसगरिएको तिला जलबिद्युत आयोजनाले जनाएको छ । तिला जलबिद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ । रासस