
काठमाडौं,२१ मंसिर । कामरेड जलजला उपन्यासको विवेचना पुस्तक विमोचन गरिएको छ । हिजो काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिष्ट पार्टीका नेता दीनानाथ शर्माले संयुक्तरुपमा विमोचन गर्नुभएको हो । जलजला उपन्यासका लेखकसमेत रहनुभएका महामन्त्री सिंहले उपन्यासका कमजोर विषयलाई उठान गरेर आफूलाई सजक बनाएकामा धन्यवाद दिनुभयो । उहाँले लेखक भट्टले पुस्तकमा कामरेड जलजला उपन्यासको दार्शनिक, वैचारिक पक्षबारे चर्चा गर्दै उपन्यासका राम्रा–नराम्रा कुरालाई आँैल्याइदिएको बताउनुभयो । महामन्त्री सिंहले उपन्यासमा विश्वको सरसर्ती भ्रमण गरेपनि विश्वलाई बदल्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा भएको उठान गरिएको बताउनुभयो । कामरेड जलजलामा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले उपन्यासमा समाजमा पाइने गुणमध्ये आमामा पाइने सन्तानको माया सर्वेश्रेष्ठ मानवगुण भएको छ । जलजलालाई सबै मानव समाज, विश्वको सुदूर अन्तरिक्षको समेत परिप्रेक्ष प्रस्तुत गरिएको छ । उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ । त्यसमाथि भट्टले विवेचना गरेर मलाई थप राम्रो गर्न सकिने पक्षबारे पनि सचेत गराउनुभएको छ भन्नुभएको थियो । एमाले उपमहासचिव ज्ञवालीले कामरेड जलजला उपन्यास पढ्न नभ्याउने पाठकका लागि प्रकाशित पुस्तकले सजिलो हुने बताउनुभयो ।
उपन्यासको सांगोपांगोरुपमा कृति रहेको, श्रष्टा र सिर्जनाबीचको अन्तरसम्बन्धलाई उजागरण गरिएकोभन्दै उहाँले लेखक भट्टले उपन्यासको विवेचना गरेर त्रुटी सच्चाउने काम गर्नुभएको बताउनुभएको थियो । उपमहासचिव ज्ञवालीले उपन्यासमा पात्रको चर्चा आर्दशवादी भयो भनेर कृतिमा चर्चा गरिएको छ । मोहनविक्रमले उपन्यासभित्र कम्युनिष्ट आन्दोलनमा अन्तरविरोध हुनेवित्तिकै पार्टी विभाजन हुने प्रवृत्तिबारे उठाउनुभएको छ । जलजलामा मानव ज्ञानको सबै विधा समेटिएका छ । त्यसैमाथि विवेचनागर्नु सामान्य कुरा होइन भन्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका नेता शर्माले उपन्यासमात्र नभएर दर्शन, विचार र सिद्धान्तबारे लेखिएको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे टिप्पणीगर्दै कम्युनिष्ट आन्दोलनको अनुसन्धानगर्न सहयोग पुग्नेगरी उपन्यास लेखिएको चर्चा गर्नुभयो । कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले प्रस्तुत पुस्तकले कामरेड जलजला उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताउनुभएको थियो । विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले कामरेड जलजला उपन्यास सिंगो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको बताउनुभएको थियो ।
प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिष्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला कामरेड जलजलाजस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताउनुभएको थियो । अखिल नेपाल प्रगतिशील लेखक संघका महासचिव भीष्म जोशीले जलजला उपन्यासमा वैश्विक नभएर ब्रम्हाण्डीय दर्शनसमेत रहेको बताउनुभएको थियो ।