
काठमाडौं २२ मंसिर । कानूनका जानकार तथा सरोकारवाला विज्ञहरुले कमजोर आत्मबल बोकेर, विभेदको भारीबोकेर र आत्मसम्मानमा ठेसलाग्ने अवस्थामा रहेका क्याविनक्रु मेम्बरले प्रभावकारी कामगर्न नसक्ने बताउनुभएको छ । नेपाल एयर लाइन्सको क्याबिनक्रु एशोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँहरुले ब्राण्ड एम्बेसडरका रुपमा रहेका क्याविन क्रुको व्यवहारले संस्थाको साख पनि प्रदर्शन हुने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोगगर्ने उल्लेखगर्दै परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने बताउनुभएको थियो । उहाँले मन्त्रालयले उड्डयन क्षेत्रमा सुधारका कामगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यामा आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले उडान सेवामा परिचारिकाको व्यवहारले नै मुलुकको साख प्रर्दशन निर्भर रहने उल्लेखगर्दै परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताउनुभएको थियो । मानवअधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीकाबारेमा कमैमात्र बहस हुनेगरेको बताउँदै यो मुद्धा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनागरिकको विषय भएको उल्लेख गर्नुभएको थियो ।
साथै उहाँले परिचारिकाको काम दिनरात खटिने चुनौतीपूर्ण काम भएको र मनमा दुःख भएपनि हासेर काम गरिरहनुपर्ने भएकाले प्रभावकारी परिणामका लागि उनीहरुका चुनौती सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मकरुपमा राम्रो रहेको बताउँदै उनीहरुलाई न्याय दिलाउने काममा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । उहाँले समाजमा बिभिन्न किसिमका लैंगिक विभेद रहेको बताउँदै यस्ता विभेदका विरुद्ध सबैले आ आफ्नो ठाउँबाट आबाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । एशोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार वा निगमको विकास र सुधारमा जति अन्य पक्षको महत्व छ, त्यति नै क्याविन क्रुको महत्व रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको बताउँदै उहाँले ब्राण्ड एम्बेसडरकारुपमा रहेका क्याविनक्रु स्वंलेभने बिभिन्न असमनता र भेदभाव भोग्नु परिरहेको गुनासो गर्नुभएको थियो ।
अध्यक्ष कार्कीले क्याविन क्रुमाथि वर्षौंदेखि हेरिँदै आएको सोच, व्यवहार परिवर्तन गर्नुपर्नेमा जोडदिँदै कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने काम गरिरहेका क्याबिनक्रु मेम्बरले प्रभावकारी कामगर्न नसक्ने बताउनुभएको थियो । अधिवक्ता अनन्तराज लुइँटेलले निगमका परिचारिकाको अवकासको विभेदसम्बन्धी मुद्धा हाल सर्वाेच्च अदालतमा रहेको बताउँदै २१औँ शताब्दीमा विश्वमा परिचारिकाका सुविधामा धेरै सुधार आइसकेको बताउनु भएको थियो । उहाँले श्रम ऐन–०७४ आइसकेपछि कुनै पनि संस्थानमा कर्मचारीबीच देखिने विभेद सम्बन्धी मुद्धामा अदालतमा जान पाइने व्यवस्था गरेको बताउनुभयो । उद्घाट्न समारोहपछि भएको समूहगत छलफलमा निगमका क्याप्टेन भोगेन्द्र कठायत, निगमका पहिलो परिचारिका लक्कीमनि शाही, निगमका इनफ्लाइट सुपरभाइजर प्रदा कार्की, एयर ट्राफिक कन्ट्रोलर हिना झा र एरोस्पेस इन्जिनियर सुनिरा रेग्मीले उड्डयन क्षेत्रमा भए÷गरेका काम, समस्या र चुनौतीबारेमा आआफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । समूहगत छलफलको संयोजन पत्रकार बबिता बस्नेतले गर्नुभएको थियो । रासस