काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारवाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको बताउनुभएको छ । हिजो जय मातृभूमि पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिनुभएको हो । राजनीतिगर्नेहरुले केबल भाषण गरेर विचारमात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले खाली विचारमात्र पोख्ने दल धेरै भए । काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन् । यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो । यसको परिणाम स्वरुप युवामा वितृष्णा बढ्यो ।
आन्दोलन भयो । अब यस्तो आन्दोलन गर्न नपर्नेगरी काम गरौँ भन्नुभएको थियो । प्रधानमन्त्री कार्कीले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध व्यक्तिलाई जिताएर संसदमा पठाउन आग्रह गर्नुभयो । एक÷एक जनाको राम्रो प्रयासले नै मुलुक सुशासनयुक्त र समृद्ध हुने उहाँको भनाइ थियो । प्रतिनिधिमण्डलमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहनुभएको थियो । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारवाही हुनुपर्ने माग राखेको छ । रासस