काठमाडौं, २ पुस । १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–०८२ तयारी पूराभएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा भोली पुस तीन गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूराभएको आयोजक सस्थाले जनाएको छ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार नाराकासाथ आयोजना हुनलागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनीका लागि राखिने संघले जनाएको छ । बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् ।

स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरणगर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । अध्यक्ष पराजुलीले स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आबश्यक छ । हामीले आयोजनागर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ भन्नुभयो । देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकामा यो महोत्वले टेवा पु¥याउने आयोजकले विश्वास लिएका छन् ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् । प्रदर्शनीमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । रासस