काठमाडौं, २ पुस । अर्थमन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोगगर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्थागर्न प्रदेश र स्थानीय तहलाई आग्रहगरेको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो भनेको हो । अर्थमन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्रगरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्नेगरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्थागर्न भनिएको छ ।

मन्त्रालयले संविधान र प्रचलित कानूनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको मागहुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुलीगर्न नमिल्ने स्मरण गराएको छ । नेपालको संविधान, प्रचलित कानून विपरित कुनैपनि कर, दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेभनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सो निर्णय गत मंसिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आबश्यक कारवाहीका लागि सम्वद्ध सबैलाई पत्राचार गरिएको जनाएको छ ।