काठमाडौं, ३ पुस । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पणगर्ने घोषणा गर्नुभएको छ । गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि हिजो नेपाल वेद बिद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पदबहालीगर्दै उहाँले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पणगरी स्वयंसेवागर्ने बताउनुभएको हो ।

उहाँले म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक श्रीको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ भन्नुभएको थियो ।उहाँले लोप भएको पशुपतिनाथको सम्पत्ति खोजी गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विश्वभरका दुई अर्बभन्दा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई विकासगरी धार्मिक पर्यटन प्रवद्र्धनगर्न आफू प्रतिबद्ध रहने सदस्य सचिव भुसालको भनाइ थियो । उहाँलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारीले कोषको कार्यालयमा स्वागत गर्नुभएको थियो । रासस