काठमाडौं,४ पुस । जेनजी नामका बिभिन्न समूहका नेताहरुमा निराशा बढेको थाहाभएको छ । उक्त समूहका प्रतिनिधिहरुले वर्तमान सरकारले जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । यसअघि उनीहरुले बर्तमान सरकारले नै जेनजी नामका बिभिन्न समूहलाई संगठित गरिदिनुपर्ने माग पनि गरेका थिए । नेपाल कानून समाज र जेनजी समूहद्वारा आयोजित जेनजी आन्दोलनको सयदिन उपलब्धि र भावि रणनीति अन्तरक्रियामा सहभागीले जेनजी आन्दोलनको १०० दिन पूराहुँदा पनि जेनजीले बनाएको सरकारले उनीहरुको निराशालाई सम्बोधनगर्न नसकेको बिचार व्यक्त गरेका हुन् । यसैक्रममा गरिखान देऊ अभियानका अध्यक्ष मिराज ढुंगानाले राज्यकातर्फबाट अवसर नपाउँदा जेनजी आन्दोलन भएको बताउनुभएको थियो । उहाँले जेनजीभित्र देखिएको निराशालाई सरकारले सम्बोधन गर्नुपर्ने माग पनि गर्नुभयो । भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार, रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । जेनजी संयोजन समितिका संयोजक लेलिन विष्टले वर्तमान सरकारले जेनजी समूहको मुद्धालाई सम्बोधनगर्न नसकेको बताउनुभएको थियो ।
संविधान संशोधनविना जेनजी पुस्ताले राखेको मागलाई सम्बोधनगर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले भ्रष्टचार नियन्त्रण, राजनीतिक नियुक्ति खारेज, सरकारको पुर्नगठनलगायत अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभएको थियो । जेनजी मुभमेन्ट नेपालका संरक्षक रविकिरण हमालले सर्वपक्षीय सरकार निर्माण गरेर संविधानलाई पुनर्लेखन गरेर अगाडि बढेमात्र जेनजीले राखेको माग पूरा हुने बताउनु भएको थियो । जेनजी वार्ता टोली समितिका सदस्य किशोरी कार्कीले जेनजी आन्दोलनका दोषीलाई कारवाही गरेमात्र जेनजी पुस्ताले न्याय पाउने बताउनुभएको थियो । घाइतेकोतर्फबाट विकास यादवले जेनजी आन्दोलनकाक्रममा आफूले चार गोली खाएको बताउनुभएको थियो ।
स्वतन्त्र जेनजी संयोजक डा जगत् विकले देशको विकासका लागि जेनजी आन्दोलन भएको बताउनुभएको थियो । शान्ति, सुरक्षा र सुशासन जेनजीले चाहेको भए पनि अहिले उक्त माग पूरा हुन नसकेको उहाँको भनाइ थियो । उहाँले वर्तमान सरकारले देशलाई निकाश दिन नसक्ने दाबि पनि गर्नुभयो । वार्ता टोलीका सदस्य टीकाराम लिम्बूले सरकार, जेनजी पुस्ता, राजनीतिक दल बसेर राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताउनुभएको थियो । जेनजी आन्दोलनका अभियन्ता अजय सोडारीले जेनजी चुनावका लागि नलडेको बताउनुभएको थियो । उहाँले जेनजी आन्दोलन हालसम्म पनि नसकिएको दाबि पनि गनुृभएको थियो । जेनजी आन्दोलनका अभियन्ता सुनील सिंहले जेनजीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो । संविधानसभा सदस्य डा खिमलाल देवकोटाले संविधान संशोधनलाई गर्दा कुन बाटोबाट गर्ने भन्नेबारे बहस र छलफल चलाउनुपर्ने बताउनुभउको थियो ।
वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले विधिको शासन, सुशासन र भ्रष्टाचारको अन्त्य आजको आवश्यकता भएको बताउनुभएको थियो । उहाँले संविधान संशोधनका लागि आयोग बनाएर सबै राजनीतिक दलको सहभागितामा हुनुपर्ने उल्लेख गर्नुभएको थियो । नेपाल कानून समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले जेनजी समूह एकढिक्का भएर अगाडि बढेमात्र जेनजीको माग पूरागर्न सहज हुने बताउनुभएको थियो । समाजका कार्यक्रम संयोजक मोहन आचार्यले सुशासन कायमगरी स्थायी सरकार अवको आवश्यकता भएको बताउनुभएको थियो । उहाँले सरकारका हरेक निकायमा दलीयकरण भएकोभन्दै यसको अन्त्यगर्दै संस्थागत संरचनामा व्यापक सुधारको खाँचो रहेको बताउनुभएको थियो ।