
ढाका,७ पुस । बंगलादेशमा आन्दोलन चर्किदै गएको छभने युनुश सरकार ढल्ने बताउन थालिएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुकाअनुसार चुनावी तयारीमा रहेको बंगलादेशको राजनीतिक वातावरण युवा नेता सरिफ ओस्मान हादीको निधनले खल्बलिएको छ । गत बिहीबार राति सिंगापुरको जनरल अस्पतालमा उपचारकाक्रममा हादीको निधन भएको थियो । त्यसलगत्तै बंगलादेशमा हिंसात्मक प्रदर्शन र आगजनीका घटना हुँदै आएका छन् । डिसेम्बर १२ मा मोटरसाइकलमा आएका दुई नकाबधारीले ढाकामा हादीमाथि गोली हानेका थिए । टाउकोमा गोली लागेपछि उपचारका लागि उहाँलाई ढाका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सिंगापुर लगिएको थियो । ३२ वर्षीय हादी सन् २०२४ मा बिद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा अग्रणी मोर्चामा रहनुभएको थियो । सो आन्दोलनले शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । ३० जुन १९९३ मा दक्षिण बंगलादेशको झालोकाठी जिल्लाको नालछिटीमा जन्मिएका हादी उच्च शिक्षा पढ्नका लागि ढाका आएदेखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए ।
पछिल्लो समय इन्कलाव मञ्चका प्रवक्ता रहेका हादीले आगामी १२ फेब्रुअरीमा हुने भनिएको संसदीय निर्वाचनमा ढाका–८ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाउनुभएको थियो । उहाँ भारतविरोधी नेताकारुपमा चिनिनुहुन्थ्यो । बंगलादेशमा बिद्यार्थी आन्दोलनले अपदस्थ हुनुभएकी पूर्वप्रधानमन्त्री शेख हसिना अहिले भारतमै शरण लिइरहनुभएको छ । हादीमाथि गोली प्रहारगर्नेको खोजी भइरहेको बंगलादेशको आतंकवादविरोधी युनिट ¥यापिड एक्सन बटालियन (आरएबी) ले जनाएको छ । प्रहरीले १३ डिसेम्बरमा घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । जहाँ दुई शंकास्पद व्यक्ति देखिएका थिए । उनीहरुले कालो कपडा र चश्मा लगाएका थिए ।
प्रहरीले अपराधीको सूचना दिने व्यक्तिलाई ५० लाख टाका पुरस्कार दिने घोषणासमेत पनि गरिएको छ । बंगलादेशी पत्रिका ‘द डेली स्टार’ काअनुसार अहिलेसम्म सो घटनासँग जोडिएकोभन्दै प्रहरीले २० जना शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरिसकेको छ ।