काठमाडौं,७ पुस । एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्रीगर्ने भएको छ । बिद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशनगर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशनगर्ने जनाएको छ ।

संस्थापक समूहअन्तर्गत ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजरगरी बनाइएको अस्पतालका लागि थप पूँजीको व्यवस्थागर्न कम्पनीले सार्वजनिक निष्काशन गर्न लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी दिनुभयो । सम्झौतामा अस्पतालका तर्फबाट कम्पनीका सञ्चालक खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो । रासस