मोगादिशु, ८ पुस । सोमालियामा खडेरीजन्य विपत्ति उल्लेखनीयरुपमा गहिरिँदै गएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले देशभरि लामो समयसम्म खडेरी रहँदा यसबाट ४६ लाख मानिसहरु प्रभावित भएका संयुक्त राष्टसंघ (युएन) राहतमामिला हेर्ने निकायले बताएको छ । शरणार्थीसम्बन्धी राष्टसंघीय नियोग (ओसीएचए) ले दुई मुख्य वर्षा ऋतुमा न्यून बर्षाका कारण खडेरी र यसका कारण निम्तिएको संकटले देशलाई गाँजेको छ । सहयोगको लागि कोषको कमीले यसलाई जटिल बनाएको छ र यसका कारण पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब संकट निम्तिएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारीगरिएको पछिल्लो प्रतिवेदनमा सोमालियाका अधिकारीहरुले पशुपालन र खेतीयोग्य जीविकोपार्जनको सम्भावित पतन र जीवनलाई रोक्न तत्काल सहयोगको लागि अपिल गरिरहेका छन् । आगामी चार महिना संकटको अवस्था बढ्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

अर्को वर्षा सन् २०२६ अप्रिलसम्म हुने अपेक्षा गरिएको छैन । ओसीएचएले भनेको छ, अर्को बर्ष जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमले पहिले नै अवलोकन गरिएको खडेरीको अवस्था, पानीको अभाव, असामान्य पशुधन बसाइँसराइ र पशुधनको मृत्युमा वृद्धि हुने सम्भावना बढेको छ । यसलेसोमालियाका धेरै भागहरुमा तीव्र खाद्य असुरक्षा बढ्ने देखिएको अधिकारीहरुले बताएका छन् । विशेषगरी देशको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरुमा खडेरीको प्रभाव गम्भीर छ, तर यो अन्य क्षेत्रहरुमा पनि फैलिरहेको छ । यसले पहिलेनै खाद्य संकटको अभाव झेलिरहेका समुदायहरुलाई थप किनारामा धकेलिरहेको छ । संयुक्त राष्टसंघ आपतकालीन राहत संयोजकले संयुक्त राष्टसंघ केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट खडेरीसँग जुध्न प्रारम्भिक कार्यको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ । यसबाट छलाख तीन हजारभन्दा बढी मानिसहरुलाई सहयोग गर्ने लक्ष्य लिइएको छ । रासस,सिन्ह्वा