काठमाडौं, ८ पुस । गोरखामा बूढीगण्डकी जलबिद्युत आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलबिद्युत आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताउनुभयो । उहाँकाअनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धनगर्न लागेको हो । कम्पनीले ३१ अर्ब ३२ करोडको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोडको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माणगर्न लागेको इञ्जिनियर मगरले जानकारी दिनुभएको छ । बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा बिद्युत गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर बिद्युत उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभयो ।

सो आयोजनाको माछाखोलामा उत्पादित बिद्युत १२.७ किलोमिटर ट्रान्समिसन लाइनहुँदै बूढीगण्डकी ख मा जोडिनेछ । दुई सय २६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङहुँदै सोतीमा बिद्युत गृहमा बिद्युत उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर बिद्युत उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभएको छ । उहाँले यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ । भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ ।

आउँदो सुक्खायामबाट निर्माणको कामगर्ने तयारी छ भन्नुभयो । यहाँ उत्पादन भएको र बूढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९.४ मेगावाट बिद्युत १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ । रासस