काठमाडौं, ८ पुस । कञ्चनपुर कारागारको घटनापछि हिजो राति बेलुकी कारागारका नाइकेसहित १३ कैदी अन्यत्र स्थानान्तरण गरिएको छ । गत शुक्रबार कैदीबन्दीले नाइके चौकीदारले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि गर्नेगरेको आरोप लगाएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो । कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीले यहाँको कारागारबाट कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको जानकारी दिनुभएको छ । कैदीबन्दी र नाइकेबीचको विवादपछिको झडपमा आठजना कैदीबन्दी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेशगर्ने बताइएको छ ।