काठमाडौं,८ पुस । जेनजीको मिराज ढुंगाना समूहले आजबाट फेरी आन्दोलन अगाडि बढाउने भएको छ । आफ्नो समूहको शान्तिपूर्ण प्रदर्शनमाथि हिजो गरिएको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भत्र्सना पनि गरेको छ । ढुंगाना नेतृत्वको जेनजी समूहले हिजो गरेको प्रदर्शनमा प्रहरीले दमन गरेकोमा विज्ञप्ति जारीगरि भत्र्सना गरिएको हो । संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाले जारी गर्नुभएको एक बक्तब्यमा शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरिएको छ ।
संयोजक ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगगर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिकरुपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहागर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ भनिएको छ । सो समूहले आज मंगलबार बिहान ११ बजेबाट फेरी प्रदर्शन थाल्ने बताइएको छ । पछिल्लो समयमा जेनजी नामका समूह खोल्ने होड बढेको छ ।
