काठमाडौं,९ पुस । केही ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक लगाइएको थाहा भएको छ । प्राप्त समाचारअनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहारगर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारीगरी गत तीनगते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहारगर्ने पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरुलाई आगामी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदानगर्न रोक लगाइएको जनाइएको छ । विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जानेक्रममा गत तीनगते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुव्र्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए । चालकहरुको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानविन गरेको थियो । प्राधिकरणले विमानस्थलबाट सेवा प्रदानगर्ने सम्पूर्ण चालकहरुले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहारगर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानूनअनुसार कारवाही जनाएको छ । यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारितभई सेवा प्रदानगर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदानगर्ने ट्याक्सी चालकहरुबाट कुनै अवरोध नगर्ने÷नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरुलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ । विमानस्थल क्षेत्रभित्र जथाभावी रुपमा सवारीसाधन रोकिएको पाइए कानूनबमोजिम कारवाहीको चेतावनी दिइएको छ । पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरुको मनोमानी हुनेगरेका विषयमा पर्यटक तथा यात्रुहरुले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । रासस