काठमाडौं,१० पुस । मौद्रिक नीतिभन्दा वित्त नीतिमा समस्या रहेको बताइएको छ । आर्थिक सुस्तता, सुस्त पूँजीगत खर्च, बढ्दो व्यापार घाटा, कमजोर संस्थागत क्षमताजस्ता समस्याले अर्थतन्त्रमा देखिएको दबाबको समाधान मौद्रिक उपकरणलेमात्र सम्भव नहुने जानकारहरुले बताएका छन् । वित्त नीति सुधार, सरकारी पूँजीगत खर्चको प्रभावकारिता र ठोस सुधार कार्यक्रम लागूनगरेसम्म अपेक्षित परिणाम नआउने धारणा विज्ञहरुले व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैंकले हिजो आयोजना गरेको आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा विषयक अन्तरक्रियामा राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले विश्वभर व्यापार घाटा पेचिलो मुद्धाकारुपमा देखिएको उल्लेखगर्दै नेपालको विकास यात्रा संरचनागत हिसाबले कमजोर हुँदैगएको बताउनुभउको थियो । उहाँले अर्थतन्त्रको आधार कृषि क्षेत्रबाट औद्योगिकहुँदै सेवातर्फ जानुपर्ने हो । तर नेपालमा कृषि क्षेत्रबाट सिधै सेवा क्षेत्रमा उफ्रिदा समस्या जटिल बन्यो भन्नुभयो । पूर्वाधार निर्माणका लागि आबश्यक संस्थागत क्षमता कमजोर भएकाले खर्च विनियोजन भएपनि कार्यान्वयन कमजोर भएको पौडेलको मूल्याङ्कन थियो । विकास निर्माणका काममा लगानी र ठेकेदार जो भए पनि नतिजा राम्रो आउनुपर्नेमा उहाँले जोड दिनुभयो । गभर्नर पौडेलले पैसाको सदुपयोग भएको छैन, थुप्रिएर बसेको छ ।
विकासमा हामीलाई नतिजा चाहिएको हो भन्नुभएको थियो । त्रिभुवन विश्वबिद्यालयका सहप्राध्यापक रमेशचन्द्र पौडेलले कमजोर आर्थिक वृद्धिदर र बढ्दो व्यापार घाटा अहिलेको मुख्य चुनौती रहेको बताउँदै नेपालमा पटक,पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन नसकेको बताउनुभएको थियो । उहाँकाअनुसार मौद्रिक नीतिभन्दा वित्त नीतिमा ठूलो समस्या छ । उहाँले मौद्रिक पाटो तुलनात्मकरुपमा सुधार हुँदैछ । तर वित्त नीतिको पाटो सुधार हुन सकेन । न पूँजी पलायन रोकियो, न प्रत्यक्ष वैदेशिक लगानी पर्याप्त आयो भन्नुभएको थियो । उहाँले दोश्रो चरणको आर्थिक सुधारका रुपमा संस्थागत क्षमता विकासलाई प्राथमिकतामा राख्नुपर्ने, मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदरको आबश्यकता औँल्याउनुभएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले बैंकमा खराब कर्जा बढेको, निजी क्षेत्र ऋण लिन अनिच्छुक र बैंकहरु पनि ऋण प्रवाहमा अनिच्छुक देखिएको बताउनुभएको थियो । लिगलले भारतसँगको स्थिर विनिमयदर पुनरावलोकनको आबश्यकता रहेको उल्लेखगर्दै स्थिर विनिमयदरका कारण उत्पादनभन्दा कारोबार (ट्रेडिङ) बढी आकर्षक भयो । निजी क्षेत्र उद्योगभन्दा व्यापारमा केन्द्रित भयो भन्नुभएको थियो । उहाँकाअनुसार यसले मूल्य नियन्त्रण र स्वतन्त्र मौद्रिक उपाय अवलम्बनगर्ने ठाउँ पनि संकुचित बनाएको छ ।
कार्यक्रममा प्राडा गोविन्द नेपालले मौद्रिक नीतिले गर्न सक्ने धेरैजसो काम गरिसकेको उल्लेखगर्दै अब वित्त नीति सुधारको केन्द्रमा ल्याउनुपर्ने बताउनुभएको थियो । अर्थविद् डा कल्पना खनालले बजारको माग बढ्न नसक्नु अर्थतन्त्र सुस्तताको मूल कारण रहेको बताउनुभयो । अहिले अर्थतन्त्र सुधारको अपेक्षा वित्त नीतिभन्दा मौद्रिक नीति र राष्ट्र बैंकबाट धेरै गरिन थालेको उल्लेखगर्दै उहाँले दुवै क्षेत्रको समन्वयमा सुधारका प्रयास थालिनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा रामशरण खरेलले पछिल्ला बर्षमा अर्थतन्त्रले स्थिरता पाएको तर वृद्धिभने सुस्त बनेको बताउनुभएको थियो ।