काठमाडौं,१० पुस । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–०८१ पारित भएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कोे १२४ औँ बोर्ड बैठक सम्पन्न भएको छ । बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आचार्य, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–०८१, तेश्रो संशोधनसहित पारित गरेको हो ।

दशौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजनागर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिसगर्ने तथा तयारीबारे प्रदेश खेलकुद र विभागीय टोलीहरुलाई पत्राचारगर्ने निर्णय भएको छ । त्यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आबको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ । बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।