काठमाडौं,१० पुस । वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउने प्रयास थालिएको छ । वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो ।

जानकारहरुका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई वाग्मती नदीको जलले स्नान गराइन्थ्यो । वाग्मती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ । डेढ दशकअघिदेखि नै वाग्द्वारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुनसकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लाग्नुभएको थियो । वाग्द्वारको शुद्ध जल बिभिन्न धार्मिकस्थलहुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य शुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभएको छ । रासस