काठमाडौं,१० पुस । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षितगर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिकरुपमा चुनावी एकताको घोषणा गरिएको छ । हिजो काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षरगर्दै संयुक्तरुपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको हो । उक्त पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले संयुक्तरुपमा चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
दुई पार्टीबीच भएको सहमतिअनुसार सर्वोदय पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलेको चिम प्रयोगगर्ने, साझा चुनावी घोषणापत्र निर्माणगर्ने तथा चुनावी प्रक्रियामा उत्पन्न हुनसक्ने बिवाद समाधानका लागि संयुक्त संयन्त्र गठनगर्ने उल्लेख गरिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यायले वर्तमान देशको जटिल राजनीतिक अवस्था, अस्थिरता र जनतामा बढ्दो निराशाबाट निकास खोज्ने उद्देश्यले औपचारिक चुनावी एकता घोषणा गरिएको जानकारी दिनुभएको छ ।
उहाँले देशलाई स्थिरता, सुशासन र जवाफदेही राजनीतिक संस्कृतितर्फ डो¥याउन समान शोच र लक्ष्य भएका शक्तिहरुबीच एकता अपरिहार्य भएको बताउनु भएको छ । त्यसैगरी सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले नयाँ राजनीतिक संस्कृतिको निर्माणगर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको बताउनुभएको छ ।