यांगुन, ११ पुस । म्यान्माको सेनाप्रति वफादार जुन्ता सरकारले जनवरी २५ मा आफ्नो कडा प्रतिबन्धित चुनावको तेस्रो र अन्तिम चरणको निर्वाचन गर्नेगरी मिति तयगरेको छ । म्यान्माको लोकतन्त्र पक्षधर अधिकार समूहले जुन्ता सञ्चालित मतदान सेनाको शासनलाई पुनः ब्रान्डगर्ने नाटक हो । सन् २०२१ मा जन निर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि म्यान्माको सेना र प्रजातन्त्र समर्थक दलहरुबीच गृहयुद्ध शुरुभएको थियो । सरकार विरोधी समूहले देशका धेरै भाग कब्जागरेको छ । प्रजातान्त्रिक नेता आङ सान सुकी सत्तापलटपछि जेलमा रहनुभएको छ भने उहाँको व्यापक लोकप्रिय पार्टी विघटन भएको छ र संयुक्त राष्ट्रसंघले चुनावअघि असहमतिको व्यापक दमनको लागि जुन्तालाई जिम्मेवार ठहर गरेको छ । पहिलो चरणको मतदान आगामी आइतबार (पुस १३ गते) हुने छभने दोस्रो चरणको मतदान यही पुस २७ मा हुनेछ ।
जुन्ता निर्वाचन आयोगले एक विज्ञप्ति जारीगर्दै देशका ३३० नगरमध्ये ६३ स्थानमा जनवरी २५ मा तेस्रो चरणको निर्वाचन हुने जनाएको छ । सेनाले म्यान्माको स्वतन्त्रतापछिको इतिहासमा अधिकांश समय दक्षिणपूर्वी एसियाली देशमा शासन गरेको छ । यद्यपि यसबीचमा करिब १० बर्षको अन्तरालमा नागरिक सरकारले आशावाद र सुधारको नेतृत्वगर्दै सत्ताको बागडोर सम्हालेको थियो । सन् २०२० को चुनावमा सुकीको ‘नेशनल लिग फर डेमोक्रेसी’ ले सैन्य समर्थक प्रतिद्वन्दीहरुलाई पराजित गरेपछि सेना प्रमुख मिन आङ ह्लाइङले मतदानमा व्यापक धाँधली भएको आरोप लगाउँदै नयाँ निर्वाचित समूहले सरकारको नेतृत्वगर्ने दिनको ठीक अघिल्लो दिन सत्ता नियन्त्रणमा लिएको थियो ।
सुरक्षा बलले प्रजातन्त्र समर्थक प्रदर्शनहरु दबाएको आरोप छ । धेरै अधिकारकर्मीहरुले लामो समयदेखि म्यान्माको किनारामा प्रभुत्व जमाउँदैआएका जातीय अल्पसंख्यक छापामारकारुपमा सेनासँग लड्न शहरहरु छोडेका थिए । मिन आङ ह्लाइङले आगामी निर्वाचनलाई प्रजातन्त्रको पुनरागमन र सेनाको विरोधगर्ने विद्रोहीहरुका लागि शान्ति स्थापनागर्ने अवसरको रुपमा चित्रण गरेका छन् । अनुगमनकर्ताहरु भन्छन्, मतपत्रमा सैन्य सहयोगीहरुको छानिएको सूची राखिएको छभने जुन्ताले एक दशकसम्म विरोध वा मतदानको आलोचनालाई दण्डितगर्ने कडा कानून पेशगरेको छ । रासस,एएफपी