काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीले आज काठमाडौं लगायत देशका बिभिन्न भागमा शक्ति प्रदर्शन गर्दैछभने सो पार्टीमा महासचिव सिपि गजुरेलले बैज्ञानिक समाजवादहुँदै साम्यवादतर्फ अगाडि बढ्ने घोषणा गर्नुभएको छ । विश्व सर्वहाराबर्गका नेता माओ त्सेतुङको १३३ औं जन्मदिवसका उपलक्षमा आज एक बक्तब्य जारीगर्दै महासचिव गजुरेलले उपरोक्त घोषणा गर्नुभएको हो । उहाँले प्रेस वक्तव्यमा भन्नुभएको छ– आज डिसेम्बर २६, तदनुसार पुस ११ गते विश्व सर्वहारा बर्गका नेता माओ त्सेतुङको १३३ औं जन्म दिवस हो । संसारका श्रमजीवी तथा उत्पीडित बर्गका जनता र तिनको प्रतिनिधित्वगर्ने सर्वहारा बर्गका अग्रदस्ता कम्युनिष्ट पार्टीहरुले माओका विचारधारात्मक तथा राजनीतिक योगदानलाई आत्मसातगर्ने र तिनलाई आआफ्नो देशको विशिष्टतामा सिर्जनात्मक ढंगले लागूगर्ने प्रतिबद्धता जाहेरगर्न हरेक बर्ष यो दिन माओको स्मरणगर्ने गर्दछन् । माओले साम्राज्यवाद तथा सामन्तवादको दोहोरो उत्पीडनवाट चिनीयाँ श्रमजीवि जनतालाई मुक्तगर्न माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढंगले लागूगरेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्नगरी वैज्ञानिक समाजवादको निर्माण गर्नुभयो । यस प्रक्रियामा उहाँले माक्र्सवादका तीनओटै संघटक अंगहरु अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान मार्फत् विश्व सर्वहारा बर्गलाई वैचारिक तथा राजनीतिक हतियारले थप बलियो बनाउनु भएको छ ।
दर्शन ः माओले दार्शनिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसँग जोडेर दर्शनको सहज व्याख्यागर्नु भएको छ । उहाँका दर्शनसम्बन्धी महत्वपूर्ण कृतिहरुमा ‘व्यवहारबारे’, ‘अन्तर्विरोधबारे’, ‘जनताका बीचको अन्तर्विरोधको सही सञ्चालन’ र ‘सही विचारहरु कहाँबाट आउँछन्’ जस्ता रचनाहरु पर्दछन् । ‘व्यवहारबारे’ भन्ने दार्शनिक कृतिमा उहाँले व्यवहार र ज्ञान एक अर्कोमा रुपान्तरित हुन्छन् र ती व्यवहार–ज्ञान–व्यवहारहुँदै निरपेक्ष सत्यको खोजीमा वर्तुलाकार ढंगले अगाडि बढ्छन् भन्ने कुरा राम्रोगरी स्थापित गर्नुभएको छ । यो ज्ञान सिद्धान्तको विकासमा एउटा महत्वपूर्ण कडी हो । पहिलेदेखि मानिँदै आएका भौतिकवादी द्वन्दवादका तीनओटा नियम मध्ये ‘मात्रा र गुणको नियम’ ‘विपरीतहरुको एकत्व र संघर्ष’ अन्तर्गतनै पर्छ र ‘निषेधको निषेध’ भन्ने छैन भनेर ‘विपरीतहरुको एकत्व र संघर्ष’ लाई अन्तर्विरोधको एकमात्र नियम रहेको कुरा बताउनु भयो । यो भौतिकवादी द्वन्दवादको क्षेत्रमा माओले गर्नुभएको गुणात्मक विकास हो । ‘दुईको एकमा संयोजन हुन्छ’ भन्ने ल्यु शाओचीको बर्गसमन्वयवादी दर्शनको खण्डनगरी माओले ‘एकको दुईमा विभाजन हुन्छ’ भनी अगाडि सार्नुभएको मान्यताले माक्र्सवादी दर्शनको भ्रष्टीकरणगर्ने संशोधनवादी हर्कत माथि राम्रो सैद्धान्तिक प्रहार गरेको छ ।
राजनीतिक अर्थशास्त्र : अर्ध–सामन्ती तथा अर्ध÷नव–औपनिवेशिक देशमा विकास हुने नोकरशाही पूँजीवाद सर्वहारा क्रान्तिको दुश्मन हो र यसमाथि वैज्ञानिक समाजवादको जग बसाउन सकिन्नभन्ने माओको संश्लेषणले उत्पीडित देशहरुमा हुने पूँजीवादी क्रान्तिको अर्थ–राजनीतिक चरित्रलाई स्पष्ट पारेको छ । उहाँले नयाँ जनवादी क्रान्तिमार्फत् राष्ट्रिय पूँजीको विकास गरेर त्यसका जगमा वैज्ञानिक समाजवादी क्रान्ति अगाडि बढाउनु भयो । जनताको बढ्दो भौतिक आवश्यकता र पिछडिएको उत्पादक शक्तिका बीचको अन्तर्विरोध नै चीनको प्रधान अन्तर्विरोध हो भन्ने ल्यु शाओची र बिरालो सेतो होस् या कालो मुसा मारे हुन्छभन्ने तेङ् सियाओ पिङ्को पूँजीवादी सिद्धान्तका विरुद्ध माओले निर्मम सैद्धान्तिक संघर्ष चलाउनुमात्र भएन क्रान्तिलाई पक्रन उत्पादन बढाऊभन्ने समाजवादी अर्थतन्त्र निर्माणको सिद्धान्त विकास गर्नुभयो । साना कृषि उद्योगको जगमा ठूला उद्योग स्थापनागर्ने दुई खम्बे अर्थनीतिका आधारमा सहकारी तथा जनकम्युन प्रणालीलाई अर्थतन्त्रको जग बनाएर अल्पविकसित देश चीनमा माओले समाजवादको निर्माण गर्नु भयो । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा यी माओका महत्वपूर्ण योगदान हुन् ।
वैज्ञानिक समाजवाद : सर्वहारा बर्गको नेतृत्व र जनताको जनवादी अधिनायकत्वमा व्यक्तहुने नयाँ जनवादी क्रान्ति, क्रान्तिका लागि पार्टी, सेना र मोर्चाको तीन जादुगरि हतियार, दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशा, आधार इलाका स्थापनाको सिद्धान्त आदिले साम्राज्यवादद्वारा उत्पीडित अर्ध–सामन्ती तथा अर्ध÷नव–औपनिवेशिक देशहरुमा हुने क्रान्तिको कार्यदिशा दिएको छ । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि माओले वैज्ञानिक समाजवादको निर्माणमा जोड दिनुभयो । समाजवादी कालभरि बर्ग संघर्ष रहन्छ, पूँजीपति र सर्वहारा बर्ग कसले जित्छभन्ने टुंगो लागेको हुँदैन, तसर्थ बर्ग संघर्षलाई कहिल्यै नविर्सभन्ने माओको उद्घोषले संशोधनवादका विरुद्धको दुईलाइन संघर्षको अपरिहार्यता र त्यसको महत्वलाई प्रष्ट गर्दछ । माओको नेतृत्वमा समाजवादी क्रान्तिको प्रक्रिया अगाडि बढेको भएपनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा त्यतिबेला सम्म सर्वहारा विश्व दृष्टिकोणको समस्या पूर्णतः समाधान भइसकेको थिएन ।

पार्टी र सरकारको उच्च ओहोदामा पुगेका संशोधनवादीहरुका विरुद्ध माओले सर्वहारा अधिनायकत्व अन्तर्गत् चीनमा सन् १९६६ देखि १९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो । समाजवादहुँदै साम्यवाद तर्फको यात्राका क्रममा सर्वहारा अधिनायकत्व अन्तर्गत सयौं सांस्कृतिक क्रान्ति आवश्यक हुनसक्ने बताएर माओले विश्व दृष्टिकोणको समस्या समाधान गर्नुभयो । ख्रुश्चेभी संशोधनवादका विरुद्ध दुईलाइन संघर्ष चलाएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको वैचारिक नेतृत्व गर्नुभयो । यो समग्र प्रक्रियामा माओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकासगरी सर्वहारा बर्गको मुक्तिको सिद्धान्तलाई समृद्धगर्नु भएको छ । बक्तब्यको अन्त्यमा आजको यस महत्वपूर्ण दिनमा विश्व सर्वहारा बर्गको एउटा टुकडी हाम्रो पार्टीले नेपालको विशिष्ट सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई सिर्जनात्मक ढंगले लागूगरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवादहुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ भनिएको छ ।