काठमाडौं, १२ पुस । कृषि प्रधान मुलुक नेपालमा खाद्यान्न आयात बढ्दै गएको देखिएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार पर्साको वीरगञ्ज नाकाहुँदै आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिनुभएको छ ।
चालु आवको पाँच महिनामा तीनअर्ब ८५ करोड मूल्यको धान र दुईअर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी एक अर्ब ३१ करोडको चामल र २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।