काठमाडौं, १२ पुस । बिभिन्न जेनजी समूहका कारण देशमा सुशासन कायम गराउन कठीन परेको बताउन थालिएको छ । यसैक्रममा बर्तमान सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरुमा परिपक्व भएर जिम्मेवार ढंले प्रस्तुत हुन सुझाव दिनुभएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको हिजो थालनीगर्दै उहाँले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरुजस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गनुृभएको थियो ।
जेनजी जनआन्दोलनको जगबाटै बर्तमान अन्तरिम सरकार बनेको बनेको उल्लेखगर्दै उहाँले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताउनुभएको थियो । मन्त्री अर्यालले जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किनभने यो आन्दोलनलाई अरु देशका जेनजी पुस्ताले अनुशरणगर्न थालेका छन् भन्नुभएको थियो । जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागतगर्दै व्यवहारमा देखाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरुका बारेमा नवपुस्ताले अभ्यासगर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ भन्नुभयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शुरु भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पु¥याएको गृहमन्त्री अर्यालको भनाइ थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधिमात्रै र सेवाग्राहीमैत्री सेवाको शुरुगर्न पाउँदा खुसी लागेको बताउनुभएको थियो । त्यस प्रणालीमार्फत सेवा लिनआउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजू गरिसकेपछि उनीहरुले लिन चाहेका सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटोछरितो र झन्झटरहित सेवा लिन सकिने उहाँले बताउनुभएको थियो ।