ढाका, १४ पुस । बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने बिद्यार्थीहरुले गठन गरेको राजनीतिक संगठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही बिद्यार्थी नेताहरुले गठबन्धनको विरोध गरेका छन् । सन् २०२४ अगस्टमा बिद्यार्थीहरुको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ । पूवै पूधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरु उहाँको पतनपछि पुनः संगठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रुपमा हेरेको पाइन्छ । हिजो आइतबार जमातले लामो वार्तापछि बिद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसिपीका केही सदस्यहरुले यस कदमको विरोधसमेत गरेका छन् । जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गर्नुभएको छ ।

उहाँले हामी गठबन्धनमा आठ दल थियौँ । अहिले दुई नयाँ दल हामीमा आएका छन् भन्नुभयो । जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरुको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसदहरुमा थोरै मात्र सिट जित्न सफल भएका थिए । करिब १७ करोड जनसंख्या भएको बहुसंख्यक मुस्लिम राष्ट्र बंगलादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरुको पुनरुत्थानले जनसंख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदागरेको छ । कट्टरपन्थी इस्लामिक समूहहरुले संगीत र नाटक महोत्सव, महिला फुटबल खेल र चङ्गा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरुमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जमातसँग गठबन्धन हुनुअघि एनसिपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए । शनिबार एक पत्रमा उनीहरुले एनसिपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरुप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन् ।

एनसिपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छभने हिजो आइतबार अर्का आक्यांक्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिनुभएको छ । पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लख्नुभएको छ–इस्लामवादीहरुसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ । लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचागर्दै गत मार्चमा एनसिपीको गठन भएको थियो । पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारीगरेको छैन । हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले चुनाव जित्ने अनुमान गरिएको छ । बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उहाँको दलमा ऊर्जा पुगेको देखिएको छ । रासस, एएफपी