काठमाडौं, १४ पुस । भारतीयलाई नागरिकता दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन । नागरिकतासम्बन्धी कसुर मुद्धाको अनुसन्धानका क्रममा सर्लाहीको मलंगवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका हुन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्धामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघिबढाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत बैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलंगवाले मंसिर पाँच गते वडाध्यक्ष मिक्रानीलाई पक्राउगर्न अनुमति दिएको थियो । सोहीअनुसार खोजतलासकाक्रममा मलंगवा–२ बाट हिजो उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ ।वडाध्यक्षलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थपभई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।