काठमाडौं, १४ पुस । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले आफू निर्दलीय नेता भएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत उपरोक्त घोषणा गर्नुभएको हो । उहाँले यसअघि आगामी १५ बर्षमा नेपालमा कुनैपनि कम्युनिष्ट पार्टी नरहने योजना पनि सार्बजनिक गर्नुभएको थियो । सामाजिक सञ्जालमा लेख्दै उहाँले आफू हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र केवल अभिभावको भूमिकामामात्र सीमित रहेको दाबि गर्नुभएको थियो ।

डा. भट्टराईले गत वर्षदेखिनै आफू कुनै दलमा नबस्ने र नयाँ पुस्तालाई अगाडि सारेर फरक ढंगले सहयोगगर्ने तयारीमा रहेको बताउँदै आउनु भएको थियो । विशेषगरी गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि असोज आठगते बसेको पूर्ब पार्टीको विस्तारित बैठकबाट आफूले औपचारिकरुपमा बिदा लिइसकेको उहाँको भनाई छ । आफ्ना सहयात्रीहरुले पछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे पनि आफू कुनै पनि दलको सदस्य नरहेको उहाँको जिकिर छ ।

आफ्नो वर्तमान भूमिकाकाबारेमा प्रष्टपार्दै डा. भट्टराईले बिभिन्न राजनीतिक शक्ति र अभियन्ताहरुले आफूलाई अभिभावक वा संरक्षकका रुपमा हेर्नेगरेको उल्लेख गर्नुभएको छ । काठमाडौंका मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछाने, कुलमान घिसिङ र रेशम चौधरीलगायत नयाँ ढंगले आएका नेतृत्वहरुले आफूलाई अभिभावको रुपमा स्वीकार गरेको उहाँको दाबि छ ।