बेइजिङ, १८ पुस । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार बिद्युतीय सवारी साधन बिक्रीगर्न सफल भएको कम्पनीले एक विज्ञप्तिमार्फत् सार्वजनिक तथ्यांकले देखाएको छ । यसले विश्वव्यापीरुपमा कुनै पनि फर्मलेभन्दा बढी कार बिक्रीको नयाँ रेकर्ड स्थापित गरेको छ । यो तथ्यांकले बिवाइडीलाई पहिलो पटक वार्षिकरुपमा एलोन मस्कको टेस्लालाई उछिन्ने अवस्थामा ल्याएको छ । टेक्सासमा रहेको टेस्लाले सन् २०२५ सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार बिद्युतीय सवारी साधन (कार) बिक्रीको घोषणा गरेको थियो । टेस्लाले शुक्रबार सन् २०२५ को लागि आफ्नो कूल बिद्युतीय कारको बिक्री संख्या घोषणागर्ने अपेक्षा गरिएको छ ।

हाइब्रिड कार पनि उत्पादन गर्ने शेन्जेनमा मुख्यालय रहेको बिवाइडीले हङकङ स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश विवाइडी सन् १९९५ मा मूलरुपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो । विश्वको सबैभन्दा ठूलो बिद्युतीय कार निर्मातामध्येको एक बिवाइडीले चीनको अत्यधिक प्रतिस्पर्धी नयाँ ऊर्जा वाहन बजारमा प्रभुत्व जमाएको छ । अब यसले विदेशमा आफ्नो उपस्थिति विस्तारगर्न खोजिरहेको छ । चीनमा बढ्दो मूल्यसँग सचेत उपभोग ढाँचाले नाफामा असर गरिरहेको छ । बिवाइडी र यसका चिनियाँ प्रतिस्पर्धीहरुले संयुक्त राज्य अमेरिकामा भारी करको सामना गरिरहेका छन् ।

बिवाइडीको सफलता दक्षिणपूर्व एशिया, मध्य पूर्व र युरोपमा पनि बढ्दैगएको छ, जसले यूरोप महाद्वीपका परम्परागत उद्योगको लागि चिन्ता सिर्जना गरेको छ । टेस्लाले सन् २०२४ मा वार्षिक बिद्युतीय कार बिक्रीमा बिवाइडी झिनो अन्तरले पछि पारेको थियो । सन् २०२४ मा टेस्लाले १७ लाख ९० हजार कार बिक्री गर्दा विवाडीको बिक्री १७ लाख ६० हजार पुगेको थियो । रासस,एएफपी