काठमाडौं, १९ पुस । जाडोयाम शुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असरपर्न थालेकोभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारीगर्दै जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको संख्या बढ्दैगएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगमा गम्भीर असर पु¥याउने र दम तथा क्यान्सरजस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ । विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरुजाडोयाममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा सेवनगर्न मन्त्रालयले आग्रह गरेको छ ।

सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ सेवनगर्न र अत्यधिक चिसो समयमा अनावश्यक रुपमा बाहिर ननिस्कन पनि मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चिसोका कारण देखिने समस्या बढेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्कगर्न वा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ मा परामर्श लिन आग्रह गरेको छ । त्यसैगरी जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोगगर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेको उल्लेखगर्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भनेको छ ।

हावा पास नहुने कोठामा यस्ता उपकरण प्रयोगगर्दा कार्बन मोनोअक्साइड ग्याँस जम्माभई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा तताउने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोगगर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडानगर्न आग्रह गरिएको छ । यस्ता उपकरण प्रयोगगर्दा टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवत–जावत हुने खुला स्थानमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्कगर्न मन्त्रालयले अनुरोध गरेको छ । रासस