
काठमाडौं,२४ पुस । तराईका बिभिन्न जिल्लामा शान्ति कायम गराउन गृहमन्त्री ओमप्रकाश अर्यालको दौडधुप जारी रहेको थाहा भएको छ । त्यसक्रममा गृहमन्त्री अर्यालले हिजो ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगि पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । ललितपुरको जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवच्छ साह तथा आयोगका अन्य पदाधिकारीहरुसँग उहाँले हिजो समसामयिक विषयमा छलफल गर्नुभएको हो । पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै मन्त्री अर्यालले संवैधानिक निकायको काम, कर्तव्य, अधिकार, आयोगले भोगीरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि आयोगका पदाधिकारीहरुसँग विचारविमर्श गर्नुभएको थियो । छलफलकाक्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गर्नुभएको थियो । नागरिक समाजको रुपमा रहेका आयोगहरु तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरु समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राख्नुभएको थियो । त्यस्तै पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारवाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव ¥याली, चेकजाँच कडाइ र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायत कार्यहरुगर्न गृहमन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरुले स्वागत गर्नुभयो ।
गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरुमा आयोगका तर्फबाट आवश्यकताअनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षा समेत राख्नुभएको थियो । धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानुन बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रुपमा रहेका आयोगहरुले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत कार्यहरुगरी यस्ता समस्याको दीर्घकालिन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरु गर्न अनुरोध समेत गर्नुभएको थियो ।
छलफलकाक्रममा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवच्छ साहले मधेशी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेशी समुदायको आयोग रहेको बताउनुभएको थियो । त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले समाजमा धार्मिक, सामाजिक सद्भाव कायमगर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाहगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।