काठमाडौं,२५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटगरी पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने चियापान समारोहमा सहभागिताका लागि निम्तोगरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही अवसरमा प्रधानमन्त्री कार्कीले चियापानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको विभाग प्रमुख श्रेष्ठको भनाइ छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २७ गते मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसका अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पणगरी सम्मान व्यक्त गरिन्छ । तत्कालीन गोरखाका राजा शाहले बिभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसेचौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । रासस