सारायेभो, २८ पुस । भेनेजुएलामाथि हालै गरिएको अमेरिकी सैन्य कारबाही र त्यहाँका राष्ट्रपतिको नियन्त्रणलाई बोस्निया तथा हर्जगोभिनाका विज्ञहरुले गम्भीररुपमा अध्ययन गर्नुपर्ने घटनाका रुपमा व्याख्या गरेका छन् । उहाँहरुकाअनुसार यस प्रकारका कदमहरुले विशेषगरी साना तथा विकासोन्मुख देशहरुमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ । बोस्नियाली राजनीतिक विश्लेषक तथा पूर्व कूटनीतिज्ञ फुआद दिदिचका अनुसार उक्त अमेरिकी कदमलाई एकल घटनाका रुपमा मात्र नभई व्यापक रणनीतिक नीतिको हिस्साका रुपमा बुझ्न आवश्यक छ । उहाँले हालै सार्वजनिक गरिएको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव पुनःस्थापना गर्ने उद्देश्य उल्लेख गरिएको बताउँदै जनवरी तीनमा भएको भेनेजुएलासम्बन्धी कारबाही त्यस रणनीतिलाई कार्यान्वयन गर्ने ठोस प्रयासका रुपमा देखिएको बताउनुभयो । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ परिस्थितिको संकेत दिएको उहाँको भनाइ छ । दिदिचका अनुसार पछिल्ला घटनाक्रमले प्रमुख शक्तिहरुले अन्तर्राष्ट्रिय मामिलामा निर्णय गर्दा सहयोगी राष्ट्रहरुसँग पर्याप्त परामर्श नगर्ने र अन्तर्राष्ट्रिय कानुन तथा स्थापित मान्यताहरुलाई पूर्ण रुपमा ध्यान नदिने प्रवृत्तिलाई उजागर गरेको छ ।

यस्ता अभ्यासहरुले विश्व राजनीतिक संरचनामा दीर्घकालीन प्रभाव पार्न सक्ने र बाल्कन क्षेत्रसहित अन्य संवेदनशील क्षेत्रहरुमा समेत नीतिगत असर देखिन सक्ने उहाँको धारणा छ । उहाँले क्युबा, कोलम्बिया र मेक्सिकोसहित ल्याटिन अमेरिकाका विभिन्न देशहरुमा यस घटनाप्रति चासो र चिन्ता व्यक्त गरिएको उल्लेख गर्नुभयो । साथै, युरोपेली साझेदार राष्ट्रहरुसँग पर्याप्त परामर्शबिना गरिएको अमेरिकी कदमले ती देशहरुमा पनि असहजता सिर्जना गरेको उहाँको भनाइ छ । यसैक्रममा बोस्नियाली इतिहासकार तथा पूर्व कूटनीतिज्ञ स्लोबोदान सोजाले भेनेजुएला घटनाक्रमलाई अन्तर्राष्ट्रिय राजनीतिमा ठूला शक्तिहरुले अपनाउँदै आएको हस्तक्षेपकारी ढाँचासँग तुलना गर्नुभयो । उहाँले केही पश्चिमी सञ्चारमाध्यमहरुले उक्त घटनालाई आक्रमण भनेर उल्लेख नगरेको र अन्तर्राष्ट्रिय कानुनका दृष्टिले यसको प्रभावलाई सीमित रुपमा मात्र प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । सोजाका अनुसार उक्त अमेरिकी कदमको प्रमुख उद्देश्य भेनेजुएलाका ऊर्जा श्रोतहरुमाथि प्रभाव कायमगर्नु हुनसक्ने देखिन्छ ।

उहाँले यसअघि इराक र लिबियामा देखिएका यस्तै हस्तक्षेपका परिणामस्वरुप ती देशहरुको सार्वभौमिकता कमजोर भएको र लामो समयसम्म क्षेत्रीय अस्थिरता कायम भएको उदाहरण प्रस्तुत गर्नुभयो । विज्ञहरुको निष्कर्षमा, भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्धमा एकपक्षीयताको प्रवृत्ति बढ्दै गएको संकेत दिएको छ । यसले विश्वभरका साना राष्ट्रहरुमा अन्तर्राष्ट्रिय व्यवस्थाको दिशा, स्थायित्व र भविष्यप्रति गम्भीर चासो उत्पन्न गराएको छ । रासस, सिन्ह्वा