काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको बिशेष महाधिवेशन आज पनि जारी छभने आज नीति र नेतृत्व परिवर्तन हुने बताइएको छ । जसलेगर्दा सो पार्टीका सभापति शेरबहादुर देउवा अलमलमा रहनुभएको बताइन्छ । संभवत आज नेपाली कांग्रेस औपचारिक रुपमै बिभाजन हुने छ । सो पार्टीलाई एमालेसँगको गठबन्धनबाट पनि अलग गराउने र आगामी निर्वाचनमा पत्तासाफ गराउने षडयन्त्र थालिएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । यसैबीच नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावादबाट टाढा राख्न सकेको खण्डमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत आउने बताउनुभएको छ ।

भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई हिजो सम्बोधनगर्दै नेता रसाइलीले आगामी निर्वाचनका कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धनगर्न नहुने बताउनु भएको थियो । त्यस्तै नेता बजरंग नेपालीले आत्म समीक्षा, आत्मसम्मान र पुनर्जागरणका लागि विशेष महाधिवेशनमा उपस्थित भएको बताउनुभएको थियो । उहाँले कांग्रेस इतिहासले प्रमाणित गरेको पार्टी हो, राणाशासनसँग लडेको पार्टी हो, लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्यगर्दै मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेको पार्टी हो भन्नुभएको थियो । उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले जेनजीको आक्यांक्षा र पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन गर्नुपरेको बताउनुभएको थियो ।

नेता ओमकार श्रेष्ठले कांग्रेस ब्यूँझिएको छ, आगामी चुनावमा हामीले बहुमत ल्याउने गरी अगाडि बढौँ, कसैलाई निषेध होइन, सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्छ भन्नुभएको थियो । अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युग चेतनाका साथमा आधुनिकीकरणगर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।