काठमाडौं,२९ पुस । नेपाल बिद्युत प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माणगर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माणगर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौंको तीनपिप्लेमा जोडिनेछ ।
तीनपिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेँशी, नुवाकोटको ककनी र काठमाडौंको तारकेश्वरको तिनपिप्लेसम्म निर्माण हुने हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयनगर्दा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा कस्तो प्रभाव पर्दछभनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । प्राधिकरणले आज धुनीबेँसी नगरपालिका–१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइगर्ने कार्यक्रम तयगरेको छ । हिजो सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ । रासस