काठमाडौं,२९ पुस । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्धामा दोषी ठहर हुनुभएको छ । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो । अदालतले भ्रष्टाचार निवारण ऐन–०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम छ महिना कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ गते सेवाग्राहीसँग एक लाख घुस लिँदैगरेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो ।

कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिनेक्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग उहाँले घुस लिएको अख्तियारको आरोप थियो । सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्धादायर गरेको थियो । यसै मुद्धामा, बयान फेरेको आरोपमा अख्तियारले गत मंसिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा दर्तागरेको थियो । तर विशेष अदालतले जसोदालाई सफाइ दिएको छ ।

अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहरगर्दै उहाँलाई आरोपमुक्त गरेको हो । रासस