काठमाडौं,२९ पुस । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिकाबारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सातवटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र आज पनि जारी रहेको छ । महाधिवेशन पक्षधरद्वारा आयोजित बन्दसत्र आज पनि बस्दै छ । आज मंगलबार बिहान नौ बजेदेखि बन्दसत्र पुनः शुरुहुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिनुभएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभएको छ । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारीरहेकाले आज मंगलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । यसैबीच नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ । सभापति शेरबहादुर देउवाको निवास महारागञ्जमा भएको पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रियादिँदै उहाँले पार्टी एकढिक्का राख्न संवाद जारीरहेको बताउनुभएको हो ।

छलफलमा पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको संकटबाट मुक्त गरेर जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्नुपर्नेमा सबैको जोड रहेको नेता कार्कीको भनाइ थियो । यसैगरी पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले हदैसम्म लचक भएर पार्टी विभाजनलाई रोक्न र पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको जानकारी दिनुभएको छ । त्यसका लागि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग संवाद भइरहेको उहाँले बताउनुभएको छ । भारत पक्षीय कतिपय नेताहरु जसरी पनि नेपाली कांग्रेस बिभाजन गराएरै छाड्ने अभियानमा लागेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।