काठमाडौं,२९ पुस । आज क्रान्तिकारी कम्युनिष्ट पार्टी सहितका छबामद्वारा उपत्यका बन्दको आयोजना गरिएको छ । बन्दको आंशिक प्रभाव रहेको समाचारसूत्रहरुले उल्लेख गरेका छन् । उनीहरुले नेपाली जनताको अवस्था फेर्न ब्यवस्था बदलौंभन्ने अभियान अन्तर्गत आजको बन्दको आयोजना गरिएको थाहा भएको छ । संयुक्त संघर्ष समितिले आगामी संसदीय निर्वाचनपछि निर्माण हुने सरकारबाट पनि देशको राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा जनजीविकाका समस्या समाधान हुन नसक्ने ठहरगरी स्वाधीन जनसरकारको गठन र जनसंविधानको निर्माणमा केन्द्रित रहेर आन्दोलन अगाडि बढाउने भनेको छ । हिजैबाट काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानबाट बाम पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा गिरफ्तार गरिएको छ ।

यसैक्रममा संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलले एक बक्तब्य प्रकाशित गरी संयुक्त संघर्ष समितिको आव्हानमा हिजो साँझ आयोजित शान्तिपूर्ण देशव्यापी मशाल जुलुस कार्यक्रममा प्रहरीले हस्तक्षेपगरी देशैभरिका बिभिन्न स्थानबाट दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको जनाउँदै गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई बिना शर्त अविलम्ब रिहागर्न जोडदार माग गर्नुभएको छ । वक्तव्यमा संयुक्त संघर्ष समितिकातर्फबाट आजका लागि आव्हान गरिएको उपत्यका बन्द सफलपार्न सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, संगठन तथा व्यक्तित्वहरुमा हार्दिक अपील पनि गरिएको छ । वक्तव्यमा संयुक्त संघर्ष समितिको आह्वानमा हिजो साँझ आयोजित देशव्यापी शान्तिपूर्ण मशाल जुलुस कार्यक्रममा सरकारले प्रहरी हस्तक्षेपगरी देशैभरिका बिभिन्न स्थानबाट दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको उल्लेख छ ।

गिरफ्तार हुनेहरुमा क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका पीबीएमहरु दिनेश शर्मा, सुरेन्द्र भण्डारी, रामबहादुर बुढा, गंगा पौडेल, दीपक शाही, केन्द्रीय समिति सदस्यहरु बिमल निरौला, सुमन पराजुली, गुणनिधि आचार्य, मनु विक, शिव धिमाल, पेसल दाहाल, टेकबहादुर विक, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय समिति सदस्यहरु वीरेन्द्र शाह, रुपा बुढा, उषा किरण, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्यहरु हिमांशु घिमिरे, बुद्धलक्ष्मी महर्जन, नेपाल कम्युनिष्ट पार्टी (जनपक्ष) बाट केन्द्रीय समिति सदस्यहरु दिनेश बर्तौला, कुमार घताने, राजेन्द्र सापकोटा, टीका परेललगायत हुनुहुन्छ ।