
काठमाडौं, २ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक बिवाद चुलिएको छभने कतिपय नेताहरुले नेतृत्वलाई पार्टी छाड्ने धम्की दिएको थाहाभएको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको हो । गत पुस १४ गते आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक प्राप्तगरेका व्यक्तिलाई हटाएर कमजोर अंक ल्याएकालाई एक,दुई नम्बरमा राखेर विधि र विधानको धज्जी उडाएको कतिपयको आरोप छ । आन्तरिक मूल्यांकन र प्राथमिक निर्वाचनबाट प्राप्तगरेको नतिजा माग्दा नेतृत्वले पार्टी छोड्न धम्की दिएको बताइन्छ ।
रास्वपाले समानुपातिक उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुलाई आवोदन दिन गत कात्तिक २२ गतेदेखि आह्वान गरेको थियो । गत पुस पाँच गतेसम्म ४१८ जनाले तोकिएको दस्तुर बुझाएर आवेदन गरेका थिए । तर बन्दसूचीमा आदिवासी जनजातिकातर्फबाट एकनम्बरमा रहेकी टासी ल्याजोम शेर्पालाई हटाएर सहकोषाध्यक्ष बसुमाया तामाङलाई ल्याउन खोजिएपछि बिवाद शुरुभएको हो । शेर्पाले आफूले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता नलिएको बताउनु भएको छ । उहाँले आयोगमा अद्यावधिक गरेको सूचीमा आफ्नो नाम हटाइएको सञ्चारमाध्यमबाट थाहा पाएको तर आफू नाम फिर्ता लिने पक्षमा नरहेको पनि बताउनु भएको छ । त्यसैगरी आन्तरिक प्रतिस्पर्धामा राम्रो अंक पाएकी रञ्जु दर्शनालाई पनि बन्दसूचीमा नपर्नेगरी पछिल्लोक्रममा राखिएको आरोप छ । विवेकशील साझाबाट एकतामा आएकी दर्शनाले बन्दसूचीबाट नाम फिर्ता लिइसकेको प्रचार गरिएको छ ।
पार्टी स्थापनाकालदेखि नेतृत्वलाई सहयोगगर्दै आएकी केन्द्रीय सदस्य कुसुम श्रेष्ठलाई पनि नेतृत्वले अन्याय गरेको गुनासो सुनिएको छ । भनिन्छ बन्दसूचीमा भएको अन्यायको विषयमा केन्द्रीय अनुशासन आयोगका निवेदन समेत परेको छ । पछिल्लो समयमा रास्वपामा कामपाका मेयर बालेन साहलाई भित्र्याएपछि आन्तरिक खिचलो बढेर गएको छ । कुलमान घिसिङले रास्वपासँगको एकता १२ दिनमै परित्याग गर्नुभएको थियो ।