काठमाडौं, ३ माघ । कास्की कारागारबाट गत भदौ २४ गते जेनजी प्रदर्शनकाक्रममा भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् । हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुईजना चिनियाँ छन् । आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए । त्यसैगरी, अन्य जिल्लाबाट भागेकाहरुलाई समेत यहाँ पक्राउ गरिएको थियो ।

कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिनुभएको छ । आसन्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीकारुपमा दलहरुले लिएका छन् । राजनीतिक दलहरुले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशंका गरिरहेको अवस्थामा प्रहरीले कैदीहरुको खोजी तीव्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिनुभएको छ ।

उहाँले निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ । यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुननदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौँ भन्नुभएको छ ।