काठमाडौं, ४ माघ । एमालेको सचिवालय बैठकमा प्रतिनिधिसभाका उम्मेदवार तयभएको थाहाभएको छ । बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीकारुपमा अगाडिसार्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीकातर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ । उहाँले केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लागेको छ । टुंगो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ भन्नुभयो ।

उहाँकाअनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्रनं पाँचबाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

काठमाडौं क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिनुभएको छ ।