काठमाडौं,५ माघ । बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउन यही माघ १२ र १३ गते ललितपुरको पाटनमा तेश्रो बृहत् राष्ट्रिय बाल महोत्सव हुने भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाहरुको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव हुनलागेको समाजले विज्ञप्ति जारीगरेर जानकारी दिएको छ । समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यका पुस्तकहरुको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।
काठमाडौं उपत्यकाका विभिन्न बिद्यालयका बिद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारहरुको सहभागिता हुुने महोत्वसमा वरिष्ठ बालसाहित्यकारका रचना प्रस्तुत हुनेछन् । महोत्वसमा बंगलादेशबाट आउने वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलले मुख्य प्रस्तुति दिनुहुने आचार्यले बताउनुभयो ।
महोत्वस आयोजनाका लागि नेपाल बालसाहित्य समाजका कोषाध्यक्ष यशोदा अधिकारीको संयोजकत्वमा ललितपुुर महानगरपालिका बालकल्याण शाखा प्रमुुख सरिता महर्जन, ललितपुर जिल्ला प्याब्सनका अध्यक्ष अर्जुन महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली, रातो बंगला किताबकी मनिता गुुरुङलगायत रहेको एक समिति गठन गरिएको थियो । महोत्वसका लागि साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, समाजका अध्यक्ष आचार्य र बरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानलगायत रहेको सल्लाहाकार समिति गठन गरिएको छ । रासस